नेपालको प्रथम संसदमा तुलसीलाल अमात्य
तुलसीलालजीसँग मेरो पहिलो भेट २००७ सालको क्रान्ति परि–सन्दर्भमा वीरगञ्जको मोर्चामा भएको थियो । हामी बनारसका छात्रहरु पटनास्थित नेपाली काँग्रेसको क्रान्ति–कालीन हेडक्वार्टरमा रहेका क्रान्ति डिक्टेटर मातृकासँग भेटेर वीरगंज पुग्दा प्रतिक्रान्ति भइसकेको थियो, थिरबम मल्ल शहिद भइसकेका थिए । वीरगंज पुनः राणाशाहीको सैनिक कब्जामा परिसकेको थियो ।
त्यहाँ हाम्रो आगमन वीरगंजलाई पुनः मुक्त गराउन सकिन्छ कि भन्ने विचार र प्रयाससँग सम्बन्धित थियो । वीरगंज पारी रक्सौलको नजिकै सीमा क्षेत्रमा क्रान्ति संचालकहरुका शिविरहरु थिए । नेपाली काँग्रेसको छुट्टै शिविर थियो भने वामपन्थीहरुको पनि छुट्टै । वामपन्थी शिविरको इन्चार्ज तुलसीलालजी हुनुहुन्थ्यो । सरल स्वभाव, सादा रहन–सहन र निरन्तर क्रियाशील तुलसीलालजीको शिविर भन्नु एउटा गोठ जस्तै किंचित फराकिलो फुसको छाप्रो थियो । भोक–भोकै आईपुगेका हामीलाई भाण्टाको तरकारी र उसिना चामलको भात तुरन्तै उपलब्ध भयो । सबैलाई खुवाएर मात्र आफू खानुहुन्थ्यो । यसरी तुलसी–लालजीबाट म तुरन्तै आकर्षित भएँ । पुष्प–लालजी र दादा भन्ने अग्ला कमरेड पनि यहाँ आउनुभयो । शैलेन्द्रकुमार उपाध्याय समेत हामी बनारसबाट पटना हुँदै बिहानै आइपुगिसकेका थियौं । यो गोठे–शिविरमा जो –जति जे जस्ता भए पनि तुलसीलालजी भने सबैका निम्ति आमा जस्तै हुनुहुन्थ्यो ।
तुलसीलालजी शुरुदेखि नै अखिल नेपाल किसान संघको सभापति हुनुहुन्थ्यो । मैले पनि शुरुदेखि नै किसान फाँटमा काम गरेको थिएँ । म पहिले पाल्पा जिल्लाको सभापति र पछि केन्द्रिय उपसभापतिमा चुनिएँ । तुलसीलालजीले रौटहतको किसान क्षेत्रमा पनि धेरै काम गर्नुभएको हो । त्यो बेला रौटहत, झापा, पाटन र पाल्पाको क्रान्तिकारी किसान आन्दोलनले नै नेपाल कम्युनिष्ट पार्टीको प्रतिष्ठालाई माथि उठाएको थियो । किसान आन्दोलन र किसान संगठनको सन्दर्भले मलाई तुलसीलालजीको अझ नजिक पुर्याएको थियो ।
किसान आन्दोलन प्रवल भएका जिल्लाहरु पाटन, पाल्पा र रौटहतका किसानहरुको भोट पाएर नै २०१५ सालको आम चुनावमा पाटनबाट तुलसीलाल, रौटहतबाट शेख फर्मान र हरदयाल महतो अनि पाल्पाबाट म समेत गरी चारजना कम्युनिष्ट उम्मेदवारहरु प्रतिनिधि सभामा निर्वाचित भएका थियौ ।
त्यसबेला १ सय ९ सिट मध्ये जम्मा ४९ सिटमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार उठाएको थियो । तर चार सिट जित्यो । दश सिटमा दोश्रो स्थान आएको थियो र कमिा असाध्यै कम अन्तरले हारेको थियो । जे भएपनि तुलसीलाल जस्तो अर्थशास्त्रका विद्वान र किसान आन्दोलनमा चुर्लुम्म डुबेर समस्या बुझेका कार्यकर्ताहरु थोरै थिए । त्यसैले उहाँको उपस्थितिले नेपालको निर्वाचित प्रथम प्रतिनिधि सभामा कम्युनिष्ट पार्टीको प्रतिष्ठालाई उल्लेखनीय पारेको थियो ।
तुलसीलालजी नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेता हुनुहुन्थ्यो । अर्थशास्त्रका एम.ए. बोल्दाखेरि जहिले पनि आर्थिक तथ्यांकलाई प्रस्तुत गरेर विषयवस्तुलाई चमत्कृत, आकर्षक र स्मरणीय पारिदिनु हुन्थ्यो । संसदमा तुलसीलालजी बोल्दा सबैले ध्यान दिन्थे । अति शान्त वातावरण रहन्थ्यो ।
त्यस्तै शान्ति र ध्यानाकर्षण संयुक्त प्रजातन्त्र पार्टीका काशीप्रसाद श्रीवास्तवले बोल्दा पनि रहेको हुन्थ्यो । तर श्रीवास्तवजीको वचन, शैली र प्रस्तुति मधुर र मनोहारी रहन्थ्यो , चमत्कारिक दृष्टान्त र कथानकहरुले सर्वांग सिंगारिएको हुन्थ्यो, उहाँले जति बोले पनि ‘सुनिरहुँ’ जस्तो लाग्थ्यो सबैलाई । तर तुलसीलालजीको प्रस्तुतिमा रहने ईतिहासको प्रमाण, अन्तर्राष्ट्रिय घटना र परिस्थितिको सन्दर्भ तथा आर्थिक तथ्यांकले श्रोता वर्गलाई झन–झन जिज्ञासु बनाइदिन्थ्यो, प्रेरणा प्रदान गर्नुहुन्थ्यो ।
हुनतः त्यो बेलाको संसदमा नेपाली काँग्रेसका ७४, नेपाल राष्ट्रवादी गोर्खा परिषदका १९, संयुक्त प्रजातन्त्र पार्टी अर्थात के.आई.सिंहको पार्टीका समेत ५ जना सांसद थिए, यी सबै पार्टीमा आ–आफ्ना एकसे एक बोलक्कड र विद्वान कार्यकर्ताहरु पनि थिए । नेपाली काँग्रेसका स्वयं विशेश्वरप्रसाद कोइराला, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, श्रीकान्त शर्मा, मीनबहादुर गुरुङ, योगेन्द्रमान शेरचन, गणेशकुमार शर्मा आदि अनेकानेक, त्यस्तै गोर्खा परिषदका भरत शमशेर, मृगेन्द्र शमशेर, बेनीबहादुर कार्की, ताराप्रसाद उपाध्याय आदि, के. आई. सिंहको पार्टीका काशीप्रसाद श्रीवास्तव, वासुदेव तिवारी र त्रिवेणी जस्ता बोलक्कड र प्रभावशाली व्यक्तित्वहरु थिए ।
त्यसबखत नेपाल कम्युनिष्ट पार्टीको संसदमा विशेष भूमिका रहनुमा पार्टीले संसदबाहिर चलाएको आन्दोलनको प्रभाव संसदभित्र पुर्याउनु पनि एउटा कारण थियो । त्यो बेला बिर्ता उन्मूलन र प्रगतिशील मालपोत, गण्डक सम्झौता र भारतबाट वनस्पति घिउको आयात तथा उत्तरी सीमामा भारतीय चेकपोष्ट आदि कुरालाई लिएर नेपालमा राष्ट्रव्यापी बहस, विरोध र आन्दोलनहरु चलाइएको थियो ।
नेपाली काँग्रेसले हिम्मतकासाथ स्पष्टसँग भूमिसुधार लागू गर्ने दिशामा कदम बढाउन सकेको थिएन । नेपाली काँग्रेस पार्टीभित्र ठालू, जिम्ववाल, मुखिया, पटवारी र जमिन्दारहरुको व्यापक जमघट भइसकेको थियो । भूमि समस्या समाधान गर्न र किसानहरुको माग पूरा गर्दा ती उच्च वर्गको हितमा धक्का लाग्दथ्यो । अर्कोतिर भारतको दबावमा भारतकै हित निम्ति ‘गण्डक सम्झौता” गरिदैंथियो । त्यस्तै भारतीय उद्योगपतिको मुनाफाका निम्ति वनस्पति घिउको पैठारी गर्न लागिएको थियो । आम चुुनाव जित्न भारतीय उद्योगपतिहरुसँगबाट काँग्रेसले चन्दा पाएको र त्यही श्रृण चुक्ता गर्न खोजेको भन्ने आरोपसमेत नेपाली काँग्रेसमाथि लगाइएको थियो । तर गण्डक सम्झौताको विरोधमा ठूल–ठूला प्रदर्शन र विरोध सभाहरुको क्रम चलिरहेको थियो ।
संसद चलिरहेकै बेलामा तुलसीलालजीलाई नेपाली काँग्रेसको सरकारले सुरक्षा कानून अन्तर्गत गिरफ्तार गरेर नजरबन्दमा राख्यो । ‘गण्डक सम्झौता” र ‘वनस्पति घिउको पैठारी” विरुद्ध संसदमा जनताको आवाज पुर्याउन एउटा विशाल विरोध प्रदर्शन गर्ने र सिंहदरबारस्थित संसद भवन घेर्ने योजना बनेको थियो । बाहिर त्यसैका निम्ति व्यापक तयारी हुँदै थियो । कोण सभाहरु इत्रतत्र भइरहेका थिए । यी कार्यक्रममा पनि तुलसीलालजी खटिरहनुभएको थियो । यसै सिलसिलामा तुलसीलालजी गिरफ्तारीमा पर्नुभयो ।
संसदमा मैले कुरा उठाएँ, ‘संसद चलिरहेको बेला हाम्रो संसदीय दलका नेतालाई किन थुनिएको हो? यसरी थुन्न पाइँदैन ।” त्यो बेलाका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले कुनै उचित जवाफ र स्पष्टीकरण दिन सकेनन । बरु ‘नेता भनेर के गर्ने? ढुंगामूढा गरेर अशान्ति मच्चाउनेलाई पुलिसले पक्रन्छ । जनप्रतिनिधि भन्दैमा कानूनभन्दा माथि कोही हुँदैन, सुरक्षा कानून लागू गर्नु कुनै अनुचित छैन ” भने ।
उहाँको गिरफ्तारीको विरोधमा संसदमा अध्यक्षले अरुलाई बोल्न नदिएकोमा सबै विरोधी सभासदहरुले बैठक बहिष्कार गरे । बाहिर एउटा विशाल विरोध प्रदर्शनले सिंहदरबार अगाडि आएर धर्ना दिएको थियो । त्यहाँ तुलसीलालजीको सट्टा मैले चलिरहेको संसदबाट गएर प्रदर्शनकारीहरुबीच भाषण गरेको थिएँ । त्यसपछि जनताको आवाजलाई संसदमा पुर्याएको थिएँ । यो कार्यक्रम सकिएपछि तुलसीलालजी छुट्नुभयो । यसैबाट बुझिन्छ कि तुलसीलालजीको सक्रियता, विद्वता र क्षमताबाट उहाँका विरोधीहरु कतिसम्म आत्तिन्थे ?
पहिलो संसदका अध्यक्ष कृष्णप्रसाद भट्टराई अहिले पनि उस्तै रसिलो बोलीले आफूसँग भेट हुनहरुसँग रमाउन खोज्नुहुन्छ । त्यो बेलाको प्रतिपक्ष गोर्खा परिषद नेपाली काँग्रेसमा एकाकार भएपछि पनि प्रतिपक्षी नेता भरत शमशेर घोर असन्तुष्ट भई काँग्रेसबाहिरै बस्नुभयो । रामनारायण मिश्र, गणेशकुमार शर्मा, काशीप्रसाद श्रीवास्तव लगायत धेरै प्रथम संसदका सांसदहरु दिवंगत भइसक्नुभएको छ । काँग्रेसका चार स्तम्भमध्ये वी.पी., सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय अहिले हामीबीच हुनुहुन्न । गणेशमान सिंह जीवनको उत्तरार्धमा नेपाली काँग्रेस परित्याग गरेर शारीरिक रुपमा समेत अति अस्वस्थ र उदासीन हुन पुग्नुभयो ।
यता त्यो बेलाको संसदमा विजयी कम्युनिष्ट नेता तुलसीलालजी आजीवन र निरन्तर कम्युनिष्ट योद्धा रहँदा रहँदै पनि २०४८को संंसदीय निर्वाचनमा अर्को समूहका कम्युनिष्ट प्रतिस्पर्धाद्वारा नै पराजित हुनुभयो । पछि उहाँ चीनका निम्ति राजदूत हुनुभयो ।
बयासी वर्षको बृद्ध उमेरमा, अति अस्वस्थ शारीरिक स्थिति हुँदा पनि निरन्तर सक्रिय रहेर राजनीतिक चिन्तन गर्दागर्दै अहिले प्रथम संसदका एक हस्ती तुलसीलालजी पनि दिवंगत हुनुभयो ।
नेपाली समाजको पीडा र व्यथा उस्तै उस्तै रहेपनि, प्रथम संसदको भवनमै आजको संसद चलिरहेको छ । तर राजनीतिक दलहरुको अवस्था र सांसदहरुको चरित्रमा भने अपरिकल्पनीय फरक आएको छ ।
Author: कमलराज रेग्मी