मैले चिनेको गिरिदाइ
तुलसीलाल अमात्यलाई कसैले राजनीतिक व्यक्तित्वका रुपमा चिने, कसैले गीताका अनुयायी त कसैले गान्धीवादी । अनि कोही नेपाली काँग्रेसको नेताका रुपमा पनि उहाँलाई चिन्दछन । उहाँको विविध व्यक्तित्व छ । सबैले धेरैपछि मात्र आधिकारिक रुपमा लिने गरेको नाम हो – तुलसीलाल अमात्य । उहाँलाई नजिकबाट चिन्ने मानिसहरुका लागि परिचयको नाम हो – गिरिदाइ । मैले पनि आजीवन गिरिदाइकै रुपमा उहाँलाई चिने, बुझें र संगत गरें । पार्टीभित्र उहाँको नाम गिरिदाइ नै हो, तुलसीलाल त हाम्रा लागि अस्वभाविक जस्तो तर आधिकारिक चिनारी मात्रै हो । उहाँलाई मैले गिरिदाइको रुपमा चिनेको २००८ सालमा हो, जतिखेर म भर्खर नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेको थिएँ । त्यो बेलादेखि नै मैले उहाँलाई गिरिदाइको नामले चिनें, संगत गरें र निकट रहेर काम गरें ।
उहाँ पहिले गान्धीवादी हुनुहुन्थ्यो, गान्धीको दर्शनबाट ज्यादै प्रभावित हुनुहुन्थ्यो । यो विद्यार्थी जीवनकै समयको कुरा हो । पछि उहाँले अर्थशास्त्रमा एम.ए. पास गर्नुभयो । भारतको राजनीतिक चहलपहलबाट प्रभावित रहेको कारण त्यो बेला गान्धीको दर्शनबाट प्रभावित नभएको नेता पाउनै गाह्रो पर्दथ्यो । तर तुलसीलालले गान्धीवादलाई जीवनको आध्यात्मिक दर्शनको रुपमा मात्र लिनुभयो, राजनीतिक दर्शन होइन ।
उहाँ भित्र र बाहिर एउटै खालको मान्छे हुनुहुन्थ्यो । अहिलेका अधिकांश नेताहरुमा द्वैध चरित्र देखिन्छ । बाहिर र भित्र को के हो? भनि चिन्नै सकिन्न । अझ विरोधाभाष भेटिन्छ । तर तुलसीलालको जीवनमा कहिल्यै द्वैध चरित्र फेला परेन । मेरो घरमा उहाँ करीब तीन वर्ष बस्नुभयो, जतिबेला उहाँ भूमीगत हुनुहुन्थ्यो । पुष्पलाल र मनमोहन अधिकारी पनि धेरै वर्ष म कहाँ बस्नुभयो । तीनै जना नेताहरु नै उबेलादेखिकै नेपाल कम्यूनिष्ट पार्टीका हस्ती हुनुहुन्थ्यो । त्यतिखेर पार्टीको सदस्य संख्या जम्मा दश हजार पुगेको थियो । मनमोहन अधिकारीलाई घरमा हामीले कमरेड पुण्यको नामबाट चिन्थ्यौं । पछि एम.एम. मात्र पनि भनियो । पुष्पलालको परिचय कमरेड गुरुङको नामले हुन्थ्यो । नेपाल कम्यूनिष्ट पार्टीका चार व्यक्तित्वभित्र मनमोहन, पुष्पलाल, तुलसीलाल र डा. रायमाझी पर्नुहुन्थ्यो । काठमाडौंको नेतृत्वदायी हैसियतमा भने शम्भुराम श्रेष्ठ पनि हुनुहुन्थ्यो । यी पाँच जना नेताहरु नै त्यो बेला कम्यूनिष्ट पार्टीका ब्रेन थिए । दोश्रो पंक्तिमा शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी, विराटनगरका राधाबाबु र मदनमणि दिक्षित ‘माडसाब’ पनि चर्चित हुनुहुन्थ्यो । नेपाली कम्यूनिष्ट आन्दोलनका यी सबै व्यक्तित्वको त्यो बेला आ–आफ्नो खालको चिनारी थियो । तर ती सबैमा तुलसीलाल चाहिं सधैभरि ‘ईगो’बाट टाढा रहनुभयो, उहाँमा कहिल्यै अहं देखापरेन । पार्टीको अनुशासन कहिल्यै मिच्नुभएन । उहाँलाइ ६ महिनासम्मका लागि केन्द्रीय समितिबाट निलम्बन गरियो, कारवाही भयो । तर अन्तरपार्टी संघर्षको घडीमा पार्टीको बिरुद्ध उहाँले एक शब्द पनि बाहिर बोल्नुभएन । आफ्नो भनाइमा सधैं अडान लिनुभयो । पछि उहाँमाथिका आरोपहरु गलत साबित भए र पुनः केन्द्रीय समितिमा लगिनुभयो ।
अहिले तुलसीलाल गीताको अनुयायी हो, ऊ मार्क्सवादी हुन सक्दैन, कम्यूनिष्ट थिएन – भन्ने चर्चा पनि केही मान्छेले चलाएका छन । तर म भन्छु, काठमाडौंका अधिकांश कम्यूनिष्ट कार्यकर्ताहरुलाई मार्क्सवादको बारेमा पढाउने, प्रशिक्षण दिने मान्छे त्यसबखत कोही थियो भने, त्यो गिरिदाइ नै थियो । वटु टोलमा राजभाइ भन्ने लिलाकृष्णको घरमा भूमीगत बसेर तीन महिना लामो प्रशिक्षण उहाँले नै चलाउनुभएको थियो । काठमाडौंमा कहिलेकाहीं पुष्पलाल आएर क्लास लिनुहुन्थ्यो । तर द्वद्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, चिनियाँ कृषि क्रान्ति जस्ता विषयमा पार्टी कार्यकर्ताले बुझ्ने भाषामा प्रशिक्षण दिने काम सधैं गिरिदाइबाटै हुन्थ्यो । हामी जस्ता त्यो बेलाका अल्लारे केटाकेटीहरुलाई बुझ्ने भाषामा प्रशिक्षण दिने पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले उहाँमा मार्क्सवादको गहन अध्ययन र बुझाइ थियो । उहाँ जे भन्नुहुन्थ्यो – त्यो गर्नुहुन्थ्यो र जे गर्नुहुन्थ्यो त्यो मात्रै भन्नुहुन्थ्यो । यही आदर्शका कारणले उहाँले जीन्दगीभर दुःख पाउनुभयो । मलाई लाग्छ – यही कारणले उहाँले एकदिन पनि आनन्द र सुखको सास फेर्न पाउनुभएन ।
मैले देखे अनुसार उहाँले ठूला ठूला अक्षर लेख्नुहुन्थ्यो । हामीले एक पेजमा अटाउने कुरा लेख्न उहाँकालागि आठ–नौ पेज कागज चाहिन्थ्यो । तसर्थः पार्टीको सम्बन्धमा कुनै कुरा लेख्नुपरे उहाँलाई ठेलीका ठेली कागज चाहिन्थ्यो । उहाँले एउटा पंक्ति पनि सोझो लेख्नुहुन्नथ्यो । एक पटक लेखेको कुरालाई कहिल्यै पनि दोहोर्याउनुहुन्नथ्यो ; जे लेखियो, लेखियो । त्यसैले उहाँको अभिव्यक्तिको प्रष्फुटनमा कुनै नक्कल वा अभिनय थिएन । अहिले अधिकांश मान्छेहरु कुनै कुरा लेखेर पछि त्यसलाई सिंगार्ने गर्छन । मनमा जे सुकै भए पनि उल्टो–पाल्टो कुरा लेखेर सिंगार्छन । वास्तवमा यस्तो कुराले मान्छेको चरित्रलाई प्रतिविम्बित गर्छ । उहाँको नेपाली भाषामा त्यति दख्खल थिएन, त्यसैले नेपालीमा बोल्दा पनि नेवारी शब्द घुसेको थाहा पाउनुहुन्नथ्यो, यही कमजोरीलाई लिएर कतिले उहाँको खिल्ली पनि उडाए ।
मैले शुरुमा उहाँलाई एउटा किसान कार्यकर्ता र नेताका रुपमा देखें । नेपालको वाम राजनीति पक्षधर किसान आन्दोलनमा कसैको इतिहास छ भने तुलसीलालको मात्र छ । उहाँको यो पक्षलाई कसैले नकार्न सक्तैन । किसानहरुलाई संगठित गर्ने क्रममा उहाँको अधिकांश समय रौतहटमा बित्यो । रौतहटको ‘तमसुक फट्टा’ आन्दोलनको उहाँले जन नेतृत्व गर्नुभयो, त्यो नेपालकै लागि अविस्मरणीय र ऐतिहासिक घटना थियो । त्यति ठूलो आन्दोलन अरु कसैले उठाउन सकेका थिएनन् । त्यसको प्रभाव पछि पाल्पामा पर्यो । पाल्पामा कमलराज रेग्मी लगायतका कम्यूनिष्ट नेता र कार्यकर्ताहरुले सामन्त र जाली फटाहाहरुको जाली कागज र तमसुकहरु जलाउने काम गरे । भीमदत्त पन्तले पनि यही तमसुक फट्टा आन्दोलनको क्रममा नै सुदुर पश्चिममा शहादत्त प्राप्त गर्नुपर्यो ।
२०१५ सालको संसदीय चुनावको बखतमा तुलसीलालको कर्मक्षेत्र रौतहट थियो । तर चुनाव पाटनबाट लड्नुभयो । उहाँले रौतहटका किसानहरुलाई संगठित गर्न जति समय बिताउनुभयो, पाटनका जनतालाई संगठित गर्न थोरै पनि समय दिन पाउनुभएको थिएन । रौतहटमा उहाँले गर्नुभएको संगठनकै कारण त्यतिबेला कम्यूनिष्ट पार्टीका चार जनाले जितेकोमा रौतहटबाट मात्रै दुई जनाले जितेका थिए । शेख फर्मान र हरदयाल महतो केही थाहा नभएका भोलाभाला किसान थिए । उनीहरुले लुगा लगाउन पनि जानेका थिएनन । किलागलका चन्द्रानन्द नेवाको घरमा ल्याई उनीहरुलाई शेरवानी र चुरीदार पाइजामा तथा जुत्ता लागउन पार्टीले सिकाएको थियो । त्यस्ता निरक्षर र पूरै ग्रामीण किसानलाई संसदमा जिताएर ल्याउने तुलसीलाल नै हुनुहुन्थ्यो । त्यतिखेर रौतहटका जनताले कसलाई भोट दिए भन्ने कुराको कुनै मतलब थिएन । तर कसको कारणले भोट दिए? यो निकै महत्वपूर्ण थियो । तुलसीलालले नै किसानहरुलाई भोट खसाल्ने कुरा बुझाउनु भएको थियो । मार्क्सवाद नबुझेका वा मार्क्सवाद नमान्ने मान्छे भएको भए उहाँ त्यति गहिराईमा पुग्नै सक्नु हुन्थेन ।
काठमाडौको किसान आन्दोलनमा पनि उहाँको सम्झना गर्नैपर्छ । त्यतिबेला काठमाडौको ३२ वटा टोलका किसानहरु संगठित थिए । मर्लाई पनि पार्टीले ३ वर्ष किसान संघमा खटाएको थियो । त्यो बखत नै मैले उहाँ सँगसँगै रहेर काम गर्ने मौका पाएँ । त्यो बेलाका किसान नेताहरु थिए –नाती महर्जन, जसलाई नातिदाइ भनिन्थ्यो, सानु महर्जन जसलाई सानुदाइ भनिन्छ । देवनारायण महर्जन पनि हुनुहुन्थ्यो । यद्यपि, देवनारायण उहाँहरुको समकालीन हुनुहुन्नथ्यो । तर अहिलेसम्म पनि उहाँ निरन्तर र इमान्दारितापूर्वक आन्दोलनमा खटिरहनुभएको छ । त्यस्तै पकनाजोलका चन्द्रदाइ, मरुटोलका द्वारिकादाइसमेत काठमाडौंको आन्दोलनको नेतृत्वमा हुनुहुन्थ्यो । तर यी सबै किसान नेताहरुको ब्रेन र स्पीरिट भनेको तुलसीलाल हुनुहुन्थ्यो । तुलसीलालले कम्यूनिष्ट पार्टी र किसान आन्दोलनबाहेक अन्य कुरा गरेको प्रायः भेटिदैंनथ्यो ।
२०१५ सालको चुनाव जितेर आएपछि संसदीय दलको नेतामा पनि तुलसीलाल अमात्य नै छानिनुभयो । म संसदीय दलको सदस्य–सचिव भएँ । उमेरले म सानै थिएँ । फेरि सदस्य–सचिवकालागि वासुदेव ढुंगाना र मेरो नाम आएको थियो । तर पछि पार्टी केन्द्रीय कमिटीले मलाई छान्यो । त्यसबेला बिहान आठबजेदेखि दिउँसो बाह्र बजेसम्म महासभा र दुई बजेदेखि पाँच बजेसम्म प्रतिनिधिसभाको बैठक चल्थ्यो । मैले दुबै सदनमा उपस्थित हुनुपथ्र्यो । किनभने त्यहाँको सबै कुरा मैले पार्टीलाई जानकारी गराउनुपथ्र्यो र जनतामा पुर्याउने विषय पार्टीको मुखपत्र ‘मशाल’मा छापिन्थ्यो । मैले अनुभव गरेसम्म त्यतिबेला महासभामा शंभुरामजीले बडा कुटनीतिक र राम्रो भूमिका खेल्नुभयो । तर उहाँ छिटो उत्तेजनामा आउने र रिसाउने गर्नुहुन्थ्यो । तल्लो सदनका चार जनामध्ये तर्क गर्ने कुरामा कमलराज रेग्मी अगाडि हुनुहुन्थ्यो । शेख फर्मान र हरदयाल महतोको काम खाली हात उठाउने मात्र हुन्थ्यो । तर जब–जब किसानहरुको सम्बन्धमा तुलसीलाल बोल्नुहुन्थ्यो, सबैले उहाँको कुरा ध्यान दिएर सुन्थे । कसैले पनि खण्डन गर्दैनथे ।
एकपटक त उहाँले बोल्नुभएपछि सत्तापक्षले ल्याएको भूमीसम्बन्धि बिधेयक ध्वनिमतद्वारा पारित गर्न खोज्दा असफल भयो । दुई तिहाई बहुमत हुँदाहुँदै सत्तापक्षले ल्याएको विधेयक नै पारित हुन नसकेको त्यस्तो घटना शायद संसदीय प्रजातन्त्र भएका मुलुकहरुमा विरलै पाइन्छ होला । विधेयकको छलफलका क्रममा तुलसीलालले बोल्नुभएपछि काँग्रेसकै सांसदहरुले त्यसको विरुद्धमा मत जाहेर गरेपछि सूर्यप्रसाद उपाध्यायले हात उठाएर पारित गर्ने कुरा राखे । अनि पार्टीको ह्वीप पनि जारी गरियो । त्यसपछि बल्ल विधेयक पारित भयो ।
त्यसबखत सांसदहरुले पाउने सुविधाको केही अंश पार्टीलाई लेवीको रुपमा बुझाउनुपथ्र्यो । शेख फर्मान र हरदयाल महतोले दुई महिनापछि लेवी बुझाउन छोडे । तर तुलसीलालले संसदबाट पैसा बुझ्ने बित्तिकै पार्टी कार्यालयमा गएर लेवी बुझाइहाल्नु हुन्थ्यो । संसदमा बोल्ने कुराको बारेमा पनि उहाँ आफूले हरेक विधेयकको अध्ययन गर्न र पार्टीका साथीहरुसँग छलफल गरेपछि राम्रो तयारी पूरा गरेर मात्र बोल्नुहुन्थ्यो । आफूलाई जानकारी नभएको कुरा सोध्न उहाँ कहिल्यै हिचकिचाउनु भएन । यसरी एउटा नेताको रुपमा मात्र होइन, सधैं नयाँ कुराको सिकारु र जिज्ञासु विद्यार्थीका रुपमासमेत उहाँ प्रस्तुत हुनुहुन्थ्यो ।
२०१७ सालमा संसद भंग हुँदा पुष्पलाल, डी.पी. अधिकारी र कमर साह काठमाडौंमा हुनुहुन्थ्यो । केन्द्रीय कमिटीका बाँकी सदस्यहरु कोही जिल्लातिर थिए भने धेरैजसो रुस र चीनमा थिए । काठमाडौंमा पार्टीको इमरजेन्सी बैठक बस्नुपर्ने भयो । तर खतरनाक अवस्था हुनाले उपयुक्त ठाउँको समस्या पर्यो । त्यो बेला भाइदाइ, हंशराज, अमिर राम र म चार जनालाई केन्द्रीय स्तरका नेताहरुको बसोबास र खानपिनको व्यवस्था गर्ने जिम्मा दिइएको थियो । त्यो संकटको बेला हामीले तुलसीलाललाई जहाँ राखेपनि उहाँ दायाँ बायाँ गर्नुभएन । एउटा ऊलनको खास्टो, बाक्लो लुगा, सुइटर र माकल टोपी लगाएर जहाँ राख्यो उहाँ त्यहीं बस्नुहुन्थ्यो । मैले आजीवन उहाँलाई साधारण भेषभूषामै देखें, सांसद हुँदा पनि । उहाँको यस्तो साधारण र सोझोपनमा मानिसहरुले धेरै मजाक पनि उडाएका छन ।
एकदिन भूमीगतकालमा उहाँ आफ्नै घरमा लुकिरहनुभएको थियो । कमला भाउजु लुगा धुँदै हुनुहुन्थ्यो । एकजना पार्टीकै जिम्मेवार सदस्य, जो अहिले मन्त्री पनि हुनुहुन्छ, भाउजुलाई सुनाउनुभयो – घरबाहिर पुलिसले घेरा हालिसकेको छ । त्यो दिउँसोको समय थियो । उहाँ घरबाट निस्केर भाग्नुभयो । यदि पुलिसले साँच्चिकै घर घेरा हालेको भए उहाँ त्यो बेला नै खत्तम हुन सक्नुहुन्थ्यो । यो कस्तो मजाक थियो ? जबकि पुलिसले घेरा हाल्ने काम गरेकै थिएन । उहाँको साझोपनमाथि मजाक गरिएको परिणामस्वरुप उहाँ दिउँसो घरबाट निस्केर भाग्नुपर्यो । तर साथीले भनेपछि उहाँ कुनै अविश्वास गर्नुहुन्नथ्यो । कसैमाथि शंका र अविश्वास गर्ने उहाँको चलन थिएन ।
निर्वासनबाट काठमाडौं फर्कनुभएपछि पनि मैले उहाँसँग बीच–बीचमा भेटिरहें । यद्यपि, त्यहाँसम्म आइपुग्दा मेरो पार्टीसँग कुनै संलग्नता थिएन । तेश्रो महाधिवेशनमा उहाँले ल्याउनुभएको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भयो । तर त्यसको उहाँले राम्रो व्याख्या गर्न सक्नुभएन । उहाँको व्याख्या कता–कता बुर्जुवा प्रजातन्त्रसँग नै मिल्न जान्थ्यो । त्यसको आर्थिक पक्षलाई समाजवादी अर्थतन्त्रतर्फ लैजानुहुन्थ्यो । तर राजनीतिक रुपमा पश्चिमा प्रजातन्त्रको कुरा गर्ने र अर्थतन्त्र समाजवादी हुने भन्ने उहाँको व्याख्यामा स्पष्टतः विरोधाभाष देखिन्थ्यो । समयक्रममा पार्टीभित्र मतभेद हुँदा उहाँलाई राष्ट्रिय रुपमा नभई नेवार सम्प्रदायको नेताको रुपमा चिनाउन खोजिन्थ्यो । नेवार समुदायमा बोल्नुपर्दा तुलसीलाललाई नै खटाइन्थ्यो ।
एक पटक उहाँलाई वटुटोलस्थित सूर्यभक्तको घरमा लुकाइएको थियो । पहिले पाटनमा पुलिसले घेरा हालेको भनी मजाक गरिएको थियो । तर यसपटक त्यहाँ वास्तवमै पुलिसले घेरा हाल्यो । बिहान ११ बजेतिर मासं गल्लीदेखि वटुसम्म पुलिसले घेरा हालेको खबर मैले पाएँ । म सरासर उहाँ बसेको ठाउँमा गएँ र सबै कुरा बताएँ । उहाँ स्वभावैले अलिक हडबडाउनु हुन्थ्यो । हामीले टोलमा निस्केर तुलसीलाल अन्यत्र लुकेको तर बिहानै भागिसकेको भन्ने हल्ला चलायौं । हामीले वटुमा नेताहरुलाई लुकाउने मुसलमान चौकभित्रका घरहरुमा हो । त्यहाँ पन्ध्र–बीस जना पुलिसले कसैलाइ पक्रन सक्छन भनेर कल्पनासम्म पनि गर्न सकिन्नथ्यो । त्यतिखेर उहाँ एक्कासि जोसमा आएर म भाग्दिन, यहीं बसेर संघर्ष गर्छु भन्नुभयो । यस्तो लिंढेढिपी मैले उहाँमा पहिलोपटक पाएँ । तर पछि संझाएर घरको छानैछाना मासं गल्ली पुर्यायौं र पर्खाल चढाएर भगायौं । यी सबै उहाँसँग निकट रहेर काम गर्दाखेरिका संस्मरणहरु हुन ।
तुलसीलाल अमात्य चीनका लागि राजदूत नियुक्त हुनुभयो भन्ने कुरा सुनेपछि मैले उहाँलाई टेलिफोन गरी एकपटक भेट्ने ईच्छा प्रकट गरें । म उहाँसँग भेट गरी राजदूत हुन किन स्विकार्नुभयो भनी झगडा गर्न चाहेको थिएँ । घरमा पुगेर एकछिन कुराकानी गरें । एकैछिनमा कमला भाउजुले स्टिलको कचौरामा चिया ल्याउनुभयो । अनि झगडा गर्ने मुडमा त्यहाँ गएको मान्छे म बोल्नै सकिन । एकैचोटी नर्भस र किंकर्तव्यविमूढ भएँ । उहाँ अरु नेताहरु जस्तो भए राजदूत हुन मान्नुहुने थिएन । सधैं पार्टीको अनुशासनमा रहने, पार्टीले खटाएको कामलाई कहिल्यै अस्विकार नगर्ने उहाँको स्वभाव थियो, त्यसमाथि पनि त्यस्तो दरिद्रताले गर्दा नै उहाँ राजदूत भएर जानुभयो । मैले यति मात्र भनें – चीन र नेपालको सम्बन्धलाई तपाईंले राजकीय स्तरमा मात्र नभई, जनस्तरमा पनि विस्तार गर्ने दिशामा केही गर्न सक्नुभयो भने राजदूत भए पनि केही गरेर देखाउनु हुनेछ । उहाँले मेरो कुरालाई दिमागमा राखेर काम गर्ने विश्वास दिलाउनुभयो । चीनमा गएपछि मलाई फोन गरी ‘मैले यहाँको मन्त्रीसँग कुरा राखें । तपाईले विस्तृत प्रस्ताव पठाउनुहोला’ भन्नुभयो । उहाँले अरनिकोको बारेमा सन्दर्भ–सामग्री पठाइदिनोस, मैले अध्ययन गर्छु पनि भन्नुभयो ।
तर एकाएक एमालेको सरकार ढल्यो । नयाँ सरकार बनेपछि उहाँ फिर्ता हुनुभयो । चीनबाट फर्कदा उहाँका दुइवटै किड्नी खत्तम भइसकेका थिए । तर औषधि गर्ने पैसा थिएन । जिन्दगीभर तुलसीलालले कहिल्यै पनि आफूलाई ढाँट्नु भएन । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले आफ्नो अडान छोड्नु भएन । यसलाई उहाँको एकोहोरोपन वा जे सुकै भने पनि हुन्छ । कुटनीतिक रुपमा उहाँको स्वभावले धेरै ठाउँमा अप्ठेरो पारेको हुनसक्छ । तर उहाँको इमान्दारिताको त सबैले प्रशंसा गर्नैपर्छ । म त भन्छु – चरित्रको मामिलामा उहाँलाई आजसम्म कसैले खोट लगाउन सक्तैनन । दिल्लीमा रहँदा अनुवाद गरेर जिविका चलाउनु भयो । तर राजदूतावासको हण्डी उहाँले कहिल्यै खानुभएन ।
आफ्नो जीवनमा संगत गरेका नेपाली कम्यूनिष्ट आन्दोलनका चार प्रमुख नेताहरुमध्ये म सबैको भाइजस्तो थिएँ । ती मध्येकै एकजना हुनुहुन्थ्यो – गिरिदाइ । उहाँलाइ भेट्दा सधैंभरि तुलसीलाल भन्ने नाम मेरो मुखबाट उच्चारण गर्नै गाह्रो पर्यो । मैले बुझेसम्म राजनीतिक अडानबाहेक सबै कुरामा उहाँले म जस्ता साथीहरुको भनाइलाई सधैंभरि कदर गर्नुभयो । उहाँले कहिल्यै न चुरोट खानुभयो, न त रक्सी नै पिउनुभयो । कुनै पनि चिजको अम्मल उहाँमा रहेन ।
अहिले खोज्दै जाने हो भने यस्ता मान्छे पाउन गाह्रो पर्छ । त्यसैले कम्यूनिष्ट पार्टीमा हावी भएको असहिष्णुता र व्यक्तिवादी प्रवृतिको गिरिदाइ सधैं अपवाद हुनुहुन्थ्यो, उहाँमा कहिल्यै पनि असहिष्णुता र व्यक्तिवाद प्रवृति भेट्टाइन । उहाँको मुखबाट ‘म’ भन्ने शब्द बिरलै निस्कियो, सधैं ‘हामी’ भन्नुभयो । जसलाई नेवारीमा ‘झीः’ भनिन्छ ।
अहिले उहाँ बितिसक्नुभएको छ । तर उहाँको राजनीतिक जीवनको साँगोपाँगो समीक्षा गर्ने कि नगर्ने? पार्टीले उहाँलाई कुन स्थानमा राखेर हेर्ने ? यो कुरालाई हामी जस्ता उहाँका मित्रहरुले अत्यन्तै विचारणीय ठानेका छौं । मान्छेको मृत्युमा समवेदनाका दुई शब्द व्यक्त गरेर मात्र कर्तव्य निर्वाह हुँदैन । तुलसीलाल शुरुमा सम्पन्न परिवारको मान्छे हुनुहुन्थ्यो । उहाँको शिक्षा–दीक्षा सम्पूर्ण कुरा काकाबाट भएको थियो । स्वठः टोलको सिंगै चौक उहाँको थियो । त्यही चोकको एउटा कोठामा बसेर उहाँले कम्यूनिष्ट पार्टी, मार्क्सवाद र किसान आन्दोलनका कुरा गरेर धेरैलाई शिक्षित र जानकार गराउनुभयो । कहिलेकाहीं त अन्य कुरा गर्न आएका मान्छेहरु उहाँसँग दिक्क भएर फर्कन्थे । किनभने उहाँ मार्क्सवाद र किसान आन्दोलनबाहेक अर्को कुरै गर्नुहुन्नथ्यो । मलाई लाग्छ, नेपालमा मदजूर आन्दोलनको शुरुवात मनमोहन अधिकारीले गर्नुभयो भने, किसान आन्दोलनको शुरुवात तुलसीलाल अमात्यले नै गर्नुभएको हो । आज किसान आन्दोलनको कुन दशा छ? यदि तुलसीलाल अमात्यलाई सम्झने हो भने किसान आन्दोलनलाई माथि उठाउनै पर्छ ।
मैले देखेको तुलसीलाल एउटा इमान्दार पति थियो, जसले आफ्नी पत्नकिो कुरा पनि कहिल्यै काटेन । साथीहरुको लागि ऊ कहिल्यै पूर्वाग्रह नसाँध्ने असल साथी थियो । उसलाई कसै–कसैले बुध्दु भनेर मजाक पनि उठाउँथे । धुर्तहरुको बोलबाला भएको ठाउँमा उसको व्यक्तित्व देखिन्न । तर इतिहासले तुलसीलाललाई विर्सन सक्तैन । अरु क्षेत्रमा नभएपनि किसान आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको क्रान्तिकारी भूमिकालाई इतिहासले विर्सने छैन । पाटनको च्यासल टोल र काठमाडौंको ज्याठा टोलमा नै तुलसीलालको अधिकांश समय बित्यो । त्यसैले उहाँको चरित्र वास्तवमै किसान नेता भएर बित्यो । यसरी मूल्यांकन गर्दा उहाँको निधनबाट इतिहासको एउटा ठूलो अध्याय सकियो । तुलसीलालको अभाव अबको नेपालमा को बाट पूरा होला? यो सोचनीय विषय हो ।
पुष्पलालको पनि इतिहास निर्माणको अवस्थामै अकालमा मृत्यु भयो । उहाँको स्मृतिमा पुष्पलाल स्मृति प्रतिष्ठान स्थापना भएको छ । तर अहिलेका मान्छेहरुले कहिल्यै मर्नुपर्दैन जस्तो ठानेर काम गरिरहेका छन । त्यसकारण तुलसीलालको मृत्युले हाम्रा बाँचेका नेताहरुको आँखा खोलिदिओस् कि त्यो रुपमा अपमानित र दरिद्र राजनीतिक जीवन बिताउन कसैलाई नपरोस । यदि त्यसो हुन सक्यो भने हामी जस्ता मान्छेहरुलाई पनि सन्तोष मिल्ने छ । तर भन्नै पर्छ, सिद्धान्तका लागि तुलसीलालले जस्तो आजीवन कठोर र संघर्षशील जीवन जीउने गौरव अबका थोरै नेताहरुले मात्र प्राप्त गर्ने छन ।
Author: लक्ष्मण राजवंशी
श्रोत: अविश्रान्त राजनायक - तुलसीलाल अमात्य
सम्पादकिय पृष्ठभूमीः
नेपाली राजनीतिमा संसद बिघटन कहिले राजाबाट त कहिले प्रधानमन्त्रीको आडमा पटक पक भएको दृष्टान्त भेटिन्छन । हालैको संसद बिघटन र पुनर्स्थापनाको खेल पनि बैचारिक र लोकतान्त्रिक अभ्यास भन्दा व्यक्तिवादी चरित्रहरुको हारजीतको श्रृंखला झै देखा परेका छन । राजनीतिक बिचारधाराका नाममा चरित्रहत्याका कडीहरु देखिदैंछन ।
यसै सन्दर्भमा २०१७ सालको संसद बिघटन, त्यसपछि २०१९ साल बैशाखको तेश्रो महाधिवेशनबीच बहुमतले पारित ‘राष्ट्रिय प्रजातन्त्र’कार्यक्रम र ‘सार्वभौमसम्पन्न संसद’नारा र त्यसताका पुष्पलाल श्रेष्ठ र हिक्मत सिंह भण्डारी दुइको सार्वभौमसत्ता सम्पन्न संसद नभइ पुरानो संसदीय व्यवस्थाको पुनस्र्थापना नै तत्कालिन काँग्रेससहित सबैलाई मान्य नारा हो भन्ने विरोध (त्यसताका उनले लेखेको ‘मूल बाटो) लाई समेत सम्बोधन गर्दै ५१ सदस्यीय राष्ट्रिय परिषद चुनेको इतिहासलाई स्मरण गर्न अत्युक्ति नहोला । त्यस अवधिमा जेल पर्नुभएका मनमोहन अधिकारी, मोहनविक्रम सिंह, कमलराज रेग्मी र कृष्णराज वर्माका सम्मानित स्थानमा वैकल्पिक सचिवहरु सहित पुष्पलाल, हिकमतसिंह भण्डारी सहितको सचिवमण्डलका महासचिव थिए तुलसीलाल अमात्य ।
बिडम्वनाको कुरा त्यसलगत्तै पुष्पलाल श्रेष्ठको नेतृत्वमा गोरखपुरमा २०२५ सालमा कथित तेश्रो सम्मेलनमार्फत जसरी रुसी समाजवादी क्रान्ति बिरुद्ध माओवादको लहरको निहुँ बनाईयो, त्यसले नै २०१९ सालमै महाधिवेशनबाट निकालिएको केशरजंग रायमाझी पक्ष, पुष्पलाल पक्ष र तुलसीलाल अमात्य पक्षका रुपमा पार्टी केन्द्रीय स्तरमै तीन पक्षमा विभाजित हुन पुग्यो ।
२०२५ सालको तेश्रो सम्मेलन ताका चीनमा भैरहेको साँस्कृतिक क्रान्ति र उग्र सोभियत विरोधवादको प्रभावलाई अगाडी सारियो भने त्यहींबाट नेकपाको निर्देशक सिद्धान्तमा माओ बिचारधारालाई थप्नु र त्यसताका बहुमतले पारित राष्ट्रिय प्रजातन्त्र’लाई संशोधनवादी देखाई नयाँ जनवादका नाममा पार्टीभित्र विकसित गुट उपगुट राजनीतिभित्र उनको चरित्र हत्याका प्रयासहरु भए, फलस्वरुप उनको राजनीतिक छवि धमिल्याउने प्रयास भए ।
इतिहासको कालखण्डमा ७४ वर्ष पुगेका तीनै तुलसीलाल २०४६ सालमा प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीको लाल झण्डालाई सेना र प्रहरीबीच प्रदर्शन गर्दै पक्राउ परे र बहुदलको घोषणा पछि रिहा भए भने २०५० सालमा उहाँको नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टी र तत्कालिन एमालेसँगको एकिकरण पछि केन्द्रिय तथा स्थायी समिति सदस्य भई २०५२ सालमा चीनको राजदूतको दायित्व निर्वाह गर्नुभयो ।